
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी रास्वपाका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।
यसअघि पुस ७ गते पक्राउ परेर छुटेका डा भुसाल सोही मुद्दामा हिजो बिहीबार पुनः समातिएका हुन् । साइबर अपराधको असुरमा विहीबार पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा पेस गरिने कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए ।
पुस ८ गते अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।
उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।














