Logo
Logo

जनतामाझ ओली सरकारको गलत कामको नांगेझार बताउँछौं : माधव नेपाल


3.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।  

शुक्रबार संसद् भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली नेतृत्व सरकारले अलोकतान्त्रिक काम गरेको भन्दै वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका हुन् । 

संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे ।

अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरूले जनताको चासोलाई उजागर गर्न मात्र खोजेको तर्क गरे । सरकारले सदनलाई बेवास्ता गरी मनपरी ढङ्गले आग्रह पूर्वाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त सङ्घर्ष गर्ने उनले बताए ।  

उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्