पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार सुरुङमार्ग ब्रेक थ्रु गरिने भएको हो ।
प्रधानमन्त्री ओलीले अहिले बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् । त्यसपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

एक हजार १२६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । उनका अनुसार सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने छ ।
सुरुङमार्गको तीनवटा सहायक सुरुङ यसअघि नै छिचोलिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताए । यस्तै, गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।
सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो ।
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो । वि.स. २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो । अबको दुई वर्षभित्र आयोजनाको सबै काम सक्ने लक्ष्य आयोजनाले लिएको छ ।