काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार अप्राकृतिक भनी भ्रम फिँजाउने काम भइरहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रस्ट पारे ।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनले बताए । देश बनाउनको लागि धेरै राजनीतिक दल नभए ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उनले बताए । पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने बताए ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दाबी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा सङ्घलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालले तीन जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा खेलकुद क्रिकेटतर्फ क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का, सूचना प्रविधितर्फ अस्तर अलि र महिला खेलकुदमा पलेसा गोवर्द्धन रहेका छन् ।