Logo
Logo

भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै


189
Shares

टक्सार । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेका यहाँ आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१ स्वास्थ्य संस्था र नौ समुदायस्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताए । यसका लागि दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने छ ।

खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिकास्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९ किशोरीलाई लगाइने छ ।

त्यस्तै आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभीविरुद्धको खोपले पाठेघरको मुख क्यान्सर जोगाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्