दाङ । प्राडा गोपिन्द्र पौडेलको नयाँ पुस्तक ‘यात्राको धुन’माथि दाङमा परिचर्चा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार उक्त परिचर्चा भएको हो ।
‘पुस्तकमा लेखकका रमाइला अनुभुति मात्र होइन अप्ठ्यारा प्रसङ्ग पनि छन् । लेखकको यात्रा थियो तर अब यो साहित्य भएर आएको छ’ समीक्षक डा. टिकाराम उदासीले भने ।

‘पुस्तक सरल छ । थुप्रै नयाँ कुराहरु छन् । पढ्दा पाठकलाई बोर लाग्नेछैन’ अर्का समीक्षक डा. गोबिन्द आचार्यको भनाइ थियो । त्यसैगरी समीक्षक डा हिमलाल पन्थीले किताब रोचक रहेको धारणा राखे ।
आफ्ना अनुभव सुनाउदै लेखक पौडेलले भने, ‘यात्राका दौरानमा अनेक खोज अनुसन्धान भएकाछन् । यात्राले मान्छेलाई ज्ञान दिदो रहेछ । ज्ञान भनेको भौतिक संसारले नै दिदो रहेछ । विश्वका अनेक लेखकहरुले यात्राबाट नै सुन्दर कृतिहरु लेखेका छन् । मैले सक्दो गरेको छु ।’
साहित्यकार उत्तमकृष्ण मजगैया, गणेश विषम, बुनु लामिछाने , यज्ञ बहादुर डागी, राम प्रसाद जैसी, सुशील गौतम, डा लोकराज पराजुली , प्रमोद धिताल , बिना मगर, गोबिन्द खड्का , सुदर्शन रिजाल, छवि पुरी, सुरेश कुमार उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम खनाल रहेका थिए भने सहजीकरण सुशिला आचार्यले गरेकी थिइन्।