
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक होटलमा लडेर बेहोस भएका युवकको मृत्यु भएको छ । गएराति होटल एभरेस्टको शौचालयको ढोकामा लडेर बेहोस भएका हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्नाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्रेमिका मुना विकसँग उक्त होटलमा गएका उनी शौचालयको ढोकामा लडेर बेहोस भएका थिए । त्यसपछि बिर्तासिटी अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














