Logo
Logo

इन्धनमा नोक्सानी देखाएर ब्रम्हलूट, अख्तियारमा उजुरी दिने तयारी


8.5k
Shares

काठमाडौं । नेपाल आयल निगमका डिपोहरूले यथार्थभन्दा बढी नोक्सानी देखाएर अनियमितता गर्दै आएपनि सरोकारबाला निकायहरू मौन छन् । ईन्धन लोड/अनलोड गर्दा आयल निगमका सबैजसो प्रादेशिक कार्यालयहरू र डिपोहरूले कृतिम नोक्सानी देखाएर अनियमितता गर्दै आएको पाइएको छ ।

नेपाल आयल निगमका कर्मचारीले इन्धनमा वास्तविकभन्दा बढी नोक्सानी भएको देखाएर अनियमितता गर्ने परिपाटी नयाँ नभएको निगमका एक उच्चअधिकारीले बताए ।

केही समयअघि निगमको सञ्चालक समितिले विराटनगर, थानकोट, र सिनामंगलको पेट्रोलियम पदार्थको भण्डारणमा नोक्सानी निर्धारण गरेको थियो । सिनामंगलमा हवाई इन्धनको नोक्सानी शून्य दशमलव ६२ प्रतिशत तोकेकोमा कार्यकारी निर्देशकले समितिको स्वीकृतिबिना शून्य दशमलव ८५ प्रतिशत तोकेको पाइएको थियो ।

इन्धन भण्डारण गर्दा वितरण केन्द्र तथा डिपोहरुमा प्रतिलिटर शून्य दशमलव ६२ प्रतिशत इन्धन नोक्सानी हुने गरेको पाइएको थियो । त्यो परिमाण बराबरको इन्धन भण्डारणका क्रममा उडेर जान्छ । तर, निगम सञ्चालक समितिले तोकेको औसत नोक्सानीको भन्दा बढी परिमाण इन्धन उडेको वा नोक्सानी भएको भन्दै कर्मचारीहरुले आर्थिक हिनामिना गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमै उल्लेख छ ।

यसरी नोक्सानी देखाएर आर्थिक हिनामिनामा निगमको माथिल्लो तहका कर्मचारीसहित डिपो प्रमुख, वितरण शाखाको संलग्नता रहँदै आएको छ । औसतमा शून्य दशमलव ६२ प्रतिशतको नोक्सानीलाई बढाएर शून्य दशमलव ८५ प्रतिशतसम्म पु¥याएको महालेखाको प्रतिवेदनमा बकैदा उल्लेख भएपनि यसलाई रोक्न सरोकारवाला निकायले चासो पाइँदैन ।

यस वर्ष थानकोट, सिनामंगल र भैरहवामा समितिले तोकेको भण्डारणभन्दा बढी नोक्सानी भएको देखिएकाले औसत बिक्री मूल्यको आधारमा ३ करोड ६५ लाख रुपैयाँ जिम्मेवार पदाधिकारीबाट असुल गरिनुपर्ने महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ, तर यसप्रति सरोकारबालाहरू मौनता साँधिरहेका छन् ।

बताइएअनुसार निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र डिपो प्रमुखहरूको मिलोमतोमै कृतिम नोक्सानी देखाएर अनियमितता गरिँदै आएको छ ।

नेपाल आयल निगममा कृतिम नोक्सानी देखाएर चलिरहेको ब्रम्हलूट नियन्त्रण गर्न र छानविन गरी दोषीउपर कार्बाहीका लागि नागरिकको एक समूहले अख्तियार दुरूपयोग अनुशन्धान आयोगमा सप्रमाण उजुरीको तयारी गरिएको छ । यस बिषयमा अख्तियार प्रमुख प्रेमकुमार राईसँग भेटेर मिहिन अनुसन्धान र छानबिन गर्न दबाब दिने तयारीसमेत गरिएको स्रोतको भनाइ छ । स्रोतले भन्यो– ‘केही दिनमै अख्तियारमा उजुरी दर्ता गरिँदै छ ।’

प्रतिक्रिया दिनुहोस्