
काठमाडौं । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले मेयर र उनका छोराबाट ज्यान मार्ने धम्की आएको भन्दै उजुरी दिएका छन् ।
नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासबाट आफु असुरक्षित रहेको भन्दै उनले मंगलबार जिल्ला प्रशासन कार्यालयमा मेयर र उनका छोराविरुद्ध उजुरी दिएका हुन् ।
एक शिक्षिकालाई हाजिर गराएकै निहुँमा मेयरका छोरा रामभजनले उनलाई कार्यकक्षमै कुटेका थिए । पछि मेयर बेचन पुग्दा गोली मार्ने धम्की दिएको अधिकृत साहले आरोप लगाएका छन् ।
साहले प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया समक्ष उजुरी दिँदै कुटपिट गर्ने मेयरका छोरा र धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
साथै उनले आफ्नो सुरक्षाको माग पनि गरेका छन् । साहले दुई प्रहरी र वडाध्यक्ष राजकिशोर सिंहको उपस्थितिमा मङ्गलवार मेयर दासले गोली हान्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा अर्को व्यवस्था नहुन्जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ ।’
शिक्षक सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षक पवन कुमारी विदेह नगरपालिका पुगेकी थिइन् । मेयर नगरपालिकामा नरहेको बेला अधिकृत साहले उनलाई हाजिर गराएका थिए । सोही विषयलाई लिएर ‘तैँले किन हाजिर गराइस् ?’ भन्दै मेयरका छोराले अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेको उजुरीमा उल्लेख छ ।












