
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
आज बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’,उनले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल पु¥याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु ।’














