
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवनमा भेटवार्ता गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर चाँडो सकेरर आयोजना अघि बढाउने सहमति भएको छ । सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ ।
यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने विषयमा छलफल भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए । यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।