Logo
Logo

काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ


315
Shares

बनेपा । काभ्रपलाञ्चोकमा ६ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जना पक्राउ परेका छन् । गत साउन महिनादेखि पुस मसान्तसम्म जिल्लामा घटेका ३ सय १ आपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् ।

यस्तै शान्ति–सुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापन अन्तर्गत भएका विभिन्न घटनाको विश्लेषणसहितको तथ्याङ्क सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

विश्लेषणात्मक रूपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतीलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

’सुरक्षा व्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो,’ उनले भने । उनका अनुसार जिल्लामा घटनाहरूको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने देखिएको छ । ढकालले भने, ‘प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाइते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनुपर्यो। यस्तो घटनामा ९७ जना घाइते भएका थिए ।

यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ठ व्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराइएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा रु १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ। यसबीचमा सहिद परिवारलाई रु ७६ लाख ८० हजार भुक्तानि गरिएको छ। रु २३ करोड ८० लाख विपदमा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्