नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको क्रियाकलापले समग्र वामपन्थी आन्दोलन नै संकटमा पर्ने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विद्यमान प्रवृत्तिले बहुसंख्यक जनताले आशा गरेको वामपन्थी आन्दोलन नै धराशायी हुने खतरा बढेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको अस्थिरता र ओलीको घमन्डले पछिल्लो समय कम्युनिष्ट पार्टीप्रति आम जनताको भरोसा टुट्दै गएको छ । नेतृत्व तहमा रहेका यी नेताद्वयको मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्तिले कार्यकर्ताहरू समेत आक्रान्त छन् । उनीहरूले आगामी दिनमा वाम आन्दोलनको भविष्य नै सङ्कटग्रस्त देख्न थालेका छन् । तैपनि पार्टीमा किनाराकृत भइने भयले यस बारेमा आवाज उठाउने हिम्मत गर्दैनन् ।
नेपालका कम्युनिष्ट पार्टीको महारोग नै विरोधीलाई देखि नसहने प्रवृत्ति हो । आफ्ना विरोधीलाई निष्कासित गर्दै पार्टीमा एकल बोलवाला कायम गर्ने प्रवृत्ति यी दुवै पार्टीका नेतृत्वमा देखिएको छ । यसले क्षणिक आत्मरतिमा रमाएर निर्विकल्प देखिए पनि समय क्रममा कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउँछ । त्यसकै परिणति अहिले माओवादी र एमालेले भोग्दै आएका छन् ।
प्रचण्डको अस्थिरता र ओलीको घमन्डले पछिल्लो समय कम्युनिष्ट पार्टीप्रति आम जनताको भरोसा टुट्दै गएको छ । नेतृत्व तहमा रहेका यी नेताद्वयको मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्तिले कार्यकर्ताहरू समेत आक्रान्त छन् । उनीहरूले आगामी दिनमा वाम आन्दोलनको भविष्य नै सङ्कटग्रस्त देख्न थालेका छन् ।
वाम एकता रुचाएका दुवै पार्टीका कार्यकर्ताहरू आफ्ना शीर्ष नेताहरूको यस्तो कार्यशैलीले असन्तुष्ट देखिए पनि खुलेर बोल्न सकेका छैनन् । कार्यकर्ताहरूले नेताहरूको स्वेच्छाचारी प्रवृत्तिको विरोध आवाज उठाउने आँट नगर्दा दुवै नेताहरू झनै मैमत्त बनेका छन् । एमाले अध्यक्ष ओलीको इखालु स्वभाव र प्रचण्डको अवसरवादी राजनीतिले कम्युनिष्ट आन्दोलन विवादित बनेको छ ।
एमालेका अध्यक्ष ओली पार्टीमा विरोधीलाई पन्छाउँदै झनै सर्वेसर्वा देखिएका छन् । उनले पार्टीमा आफ्नो अनुकूलको अधिकार प्रत्यायोजन गर्दै निर्विकल्प देखिने दाउमा लागेका छन् ।
पार्टीमा एकल सर्वसम्मत नेतृत्वका रूपमा रहन विरोधीलाई कारबाही गर्दै अघि बढेका उनी पार्टीमा आफ्ना आलोचकमुक्त एमाले बनाउने अभियानमा छन् । विगत १५ वर्ष माधव नेपाल पार्टीको महासचिव हुँदा कोपभाजनमा परेका आफूपक्षीय नेताहरूलाई पार्टीमा अवसर दिइरहेका छन् ।
माओवादी प्रचण्ड पनि आफ्नो पार्टीमा सर्वेसर्वा र निर्विकल्प देखिन्छन् । पार्टीमा विमति राख्नेलाई विभाजित हुन बाध्य पार्ने उनको विशेषता हो ।
विगतदेखि माओवादीमा मुख्य एकल नेतृत्व र सम्पूर्ण अधिकार दाहालमाथि केन्द्रीकरण गरेको थियो । त्यसैको प्रभाव स्वरुप माओवादीमा फरक मत राख्न नेताहरूप्रति कठोर बन्दा अलग्गिए र दोस्रो तहबाट नेतृत्वको उत्तराधिकारी विकास हुन नसक्दा दाहाल अहिले पनि सर्वस्वीकार्य बन्नुपर्ने बाध्यात्मक स्थिति छ ।
उता, एमालेमा पनि पछिल्लो समय यही दिशामा अध्यक्ष ओलीले कदम अघि बढाएका छन् । अहिले ओली सम्पूर्ण अधिकार निहित गर्दै आफूमा प्रचण्ड शैलीको केन्द्रीकरण लाद्न कोसिस गरेका छन् । ओलीले आफ्ना विरोधी र फरक मत राख्ने नेताहरूलाई भीम रावललाई जस्तै लखेट्दै सम्पूर्ण अधिकार आफूमा प्रत्यायोजन गरेका छन् ।
विगतमा पार्टीभित्र फरक समूह रहेको माधव नेपाल निकटस्थ नेताहरू पनि ओलीसँग पूर्णतया आत्मसमर्पण गर्दै समाहित भएका हुन् । उनीहरूले नेतृत्वविरुद्ध असन्तुष्ट भए पनि सङ्गठित भएर ओली इतर समूह चलाउन सक्ने अवस्था छैन ।
यी दुवैको यस्तै समान प्रवृत्तिले विगतमा दुवै पार्टी मिल्दा पनि सँगै हुन सकेनन् । २०७४ मा एमाले र माओवादी मिलेर बनेको नेकपा बन्दा आम कार्यकर्ता उत्साहित भएका थिए । तर, प्रचण्ड र ओलीको कार्यशैलीले त्यो एकता लामो समय टिक्न सकेन । दुई वटा पार्टी मिलेर बनेको नेकपा विभाजन हुँदा तीन टुक्रा बनेर वाम आन्दोलन थप कमजोर बन्न पुग्यो ।