Logo
Logo

महिनावारी पाप होइन, उत्सव हो


3.3k
Shares

आदिमकादेखि हाम्रो समाजमा स्थापित कुप्रथा मध्ये एक हो, छाउपडी प्रथा । यो कुप्रथा पश्चिम नेपालमा जरा गाडेर बसेको छ । यो कुप्रथा मध्यपश्चिम र सुदूरपश्चिममा तुलनात्मक रूपमा बढी रहेको छ ।

हरेक महिला महिनावारी हुन्छन्, यो प्राकृतिक नियमित प्रक्रिया हो । जो प्रजनन प्रणालीसँग पनि अन्तर्निहित हुन्छ । तर, यसै प्रक्रियालाई अपवित्र र अशुद्ध भनी घर बाहिर छाउगोठमा राखिने गरिन्छ । यसलाई छुई वा छाउपडी प्रथा भनिन्छ । जुन कुप्रथाले हाम्रो समाजमा जरा गाढेको छ ।

समाजमा अहिले पनि छाउपडी प्रथा व्याप्त छ । महिनावारी हुँदा महिलाहरू अहिले पनि गाई गोठ, बाख्रा खोर र ओडारमा बस्न बाध्य छन् । जसले उनीहरूको ज्यानै जोखिममा परेको छ ।

हाम्रो समाजमा महिनावारी भएका महिला घरमा बस्दा देवी देवता रिसाउने, बाघ, भालु र सर्पको डर, आगलागी हुने जस्ता गलत बुझाइ छ । जस कारण महिनावारी भएका महिलाहरूलाई अछुत मानियो, मानिन्छ ।

आफ्नै घरभित्र पस्दा देउता रिसाउँछन् भन्ने डर देखाइयो । छुई भएका बेला घरमा बस्न नहुने कुरीति बसाइयो । घरदेखि टाढा गोठमा बस्नुपर्ने संस्कार जबरजस्ती स्थापित गरियो । समय क्रमसँगै यो कुप्रथा घट्दै गएको छ । तर, पूर्णरूपमा भने नष्ट हुन सकेको छैन ।

सर्वोच्च अदालतले ०६२ वैशाख १९ गते छाउपडी प्रथालाई ‘कुरीति’ नै घोषणा गर्यो । तर, त्यो कागजमा मात्रै सीमित रह्यो । आज पनि महिनावारी हुँदा महिलाहरू आफ्नै घरभित्र पस्न पाउँदैनन् । पाँचदेखि सात दिनसम्म अलग्गै छाउगोठमा बस्नुपर्छ । जुन नारीमाथिको अत्याचार हो ।

घरभन्दा पर जङ्गलछेउमा सामान्य कटेरो बनाइन्छ । साँघुरो त्यही गोठमा महिलाहरूले छाउ अवधि बिताउनुपर्छ । जहाँ कति जोखिम हुन्छ भने हरेक वर्ष कुनै न कुनै महिलाले एकान्तबासमै ज्यान गुमाइरहेका घटनाले पनि पुष्टि गर्दछ । छाउगोठमा बस्दा विभिन्न रोगहरूबाट समेत सङ्क्रमित हुन्छन् ।

छाउगोठमै निसास्सिएर ज्यान गुमाउनेदेखि सर्पले डसेर र अन्य जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छन् । त्यति मात्र होइन, बलात्कारको सिकार हुनुपरेका कयौँ घटना छन् । उदाहरणको लागि हेरौँ केही त्यस्ता घटना–

घटना १ः गत माघ १३ गते कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४५ वर्षीय सरस्वती बिटालु बाघको आक्रमणमा परिन् । महिनावारी भएका बेला घरनजिकै छाउगोठमा सुतिरहेकी उनलाई बाघले आक्रमण गर्यो । उनको टाउको र अनुहारमा चोट लाग्यो । छिमेकीले थाहा पाएर होहल्ला गर्दा बाघ भाग्यो र उनी बाँच्न सफल भइन् ।

घटना २ः ४ असार २०८१, अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत भइन् । मामाघरमा बस्दै आएकी उनी बिहान अचेत अवस्थामा भेटिइन् । प्रहरीले छाउगोठबाटै उद्धार गरी स्वास्थ्य जाँच गराउँदा बालिकामाथि बलात्कार पुष्टि भयो ।

घटना ३ः २३ साउन २०८० मा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ प्याउलीकी १६ वर्षीया अनिता चन्दले ज्यान गुमाइन् । महिनावारी भएका बेला छाउगोठ बसेकी उनको सर्पले डस्दा मृत्यु भएको थियो ।

घटना ४ः १५ मंसिर २०७६मा अछाम साँफेबगर नगरपालिका– ३, सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको पनि छाउ गोठमै ज्यान गुमाइन् । जुन बेला लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको थियो । जेठाजुका कारण उनी छाउगोठमा बस्न बाध्य भएकी थिइन् ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । सार्वजनिक नभएका र लुकाइएका यस्ता घटना थुप्रै छन् । यति हुँदाहुँदै पनि रुढीग्रस्त समाजले यस्तो कुप्रथाको जालो तोड्न सकेको छैन ।

छाउगोठविरुद्धका अभियानहरू सञ्चालन नगरिएका होइनन् । २०७६ माघ ८ गतेदेखि गृह मन्त्रालयले देशभर छाउगोठ भत्काउने अभियान नै चलायो । दुई हजार बढी छाउगोठहरू भत्काइए । छाउगोठ मुक्त घोषणा पनि गरियो । तर, त्यो घोषणामै सीमित भयो । व्यवहारमा लागू भएन । बास र काठले बेरबार परिएको सानो गोठ भत्काइयो । तर, समाजमा जरा गाडेर बसेको छाउगोठ भत्काउन सकेनन् । गोठ भत्किए, तर सोच भत्किएन ।

पहिलेको तुलनामा मानिसहरू शिक्षित भएका छन् । गाउँ गाउँमा शिक्षाको पहुँच पुगेको छ । प्रविधिले हरेक व्यक्तिलाई विश्वसँग जोडेको छ । तर, पनि हाम्रो समाजमा यस्ता कुप्रथाहरू कहर बनेर रहिरहेका छन् । दुरदराजका बस्तीमा त शिक्षित महिलाहरू नै छाउगोठ बस्नुपर्ने बाध्यता छ । यो लज्जाको विषय हो ।

महिनावारी सहज बनाउन निःशुल्क प्याड दिने र छाउगोठ भत्काउने काम राम्रो हो, तर यी दिगो समाधानका उपाय होइनन् । जबसम्म महिनावारीको चर्चा गर्दा मर्यादाको कुरा गरिँदैन तबसम्म यो अभियान अपूरो हुन्छ । र, देउता रिसाउने भयले कुप्रथा तोड्ने आँट महिलाहरूमा आउँदैन ।

सिकाइमा वातावरणले ठूलो प्रभाव पार्छ । बालबालिकालाई काँचो माटो भन्ने गरिन्छ । समाजले जस्तो बनायो उनीहरू त्यस्तै बन्ने हुन् । आफ्नी आमा वा दिदीहरू महिनावारी हुँदा घरबाट टाढै बसेको, छोइछाइ बारेको उनीहरू देख्छन् । यसले महिनावारी हुनु भनेको पाप हो भन्ने उनीहरूको दिमागमा पर्छ ।

धेरैजसो युवतीहरू यस्तै सोचाइ बोकेर हुर्किन्छन् । र, जब आफू महिनावारी हुन्छन्, उनीहरू स्वतः महिनावारी बार्ने परम्पराको परिबन्धमा पर्छन् । जिन्दगीको एक चरणमा पुगेपछि यो सबै गलत हो भन्ने बुझ्न पनि सक्छन् । तर त्यति बेलासम्म उनीहरू यसबाट कहिल्यै नउम्किने गरी मानसिक रूपले बाँधिइसकेका हुन्छन् । उनीहरू चाहेर पनि आफ्नो व्यवहार फेर्न सक्दैनन् । यो कुरीति हो भन्ने थाहा हुँदाहुँदै लड्ने क्षमता हुँदैन ।

हाम्रै समुदायमा धेरैले महिनावारी बार्दैनन् । सहरी क्षेत्रमा यो प्रथा न्यून छ । छाउगोठ त छँदै छैन । पूर्वी नेपालका केही आदिवासी समुदायमा त यो प्रथा छ भन्ने थाहा समेत छैन । देउवा त उनीहरूको पनि छ । धर्म पनि उही हो । खै त देउता रिसाएको ?

तर, मेरो ठाउँ/समुदायमा छैन भन्दै भनेर यो कुप्रथालाई भत्काउने कर्तव्य मेरो होइन भन्ने ठान्नु हुँदैन । सचेत नागरिक सबैले छाउपडी जस्तो कुप्रथाबाट महिलालाई मुक्त गराउन सक्दो प्रयास गर्नुपर्छ । जबसम्म सबै जातजाति वा समुदायबाट यो प्रथा हट्दैन, तबसम्म सुदूरपश्चिमका दुर्गम गाउँबाट छाउगोठ भत्काएर मात्र केही हुँदैन । गलत संस्कारै भत्काउनैपर्छ ।

गलत सोच र संस्कार भत्काउने अभियानमा सबै एकजुट हुनुपर्छ । सबैले आफ्नो दायित्व निर्वाह पर्नुपर्छ । मथिङ्गलमा जारा गढेर बसको यो कुप्रथा भत्काउन सके सुदूरका छाउगोठ स्वतः भत्कनेछन् । त्यसपछि मात्रै महिनावारी पाप नभई उत्सव बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्