काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू दुवै सदनबाट स्वीकृत हुने विश्वास व्यक्त गरेका छन् । सरकारले सहकारीसहित ८ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा दर्ता गरेपनि निर्णयार्थ पेस हुन सकेको छैन । यसैबेला प्रधानमन्त्री ओलीले अध्यादेश पारित हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएराति साढे १ बजे नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । सोही क्रममा एक नेताको प्रधानमन्त्री ओलीलाई भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ ? भन्ने जिज्ञासामा उनले स्वीकृत हुने जबाफ दिएका हुन् ।
भेटघाटमा सहभागी एक नेताले भने, ‘हामी पार्टी सांगठनिकलगायत विषयमा कुराकानी गर्न बालुवाटार गएका थियौं । कुराकानीका क्रममा एकजना साथीले भूमिसम्बन्धी अध्यादेशबारे प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्नुभयो । जवाफमा प्रधानमन्त्रीज्यूले भूमिसम्बन्धी अध्यादेश पनि राष्ट्रियसभाबाट स्वीकृत हुन्छ भनेर उहाँले भन्नुभयो ।’ सरकारले ल्याएका सबै अध्यादेश सदनबाट पारित हुने विश्वासमा प्रधानमन्त्री ओली रहेको पनि उनले बताए ।
ती नेताका अनुसार प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली भइन्जेल केही हुन्न, बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ ।’ तर, सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस हुन सकेको छैन ।
प्रतिनिधिसभामा कांग्रेस–एमालेको मात्रै पनि बहुमत छ । तर, राष्ट्रियसभामा कांग्रेस र एमालेका जम्मा २७ जना सांसद छन् । तर, बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ । यसका लागि ३ सांसद भएको जसपा नेपालको भू,िमका निर्णायर्थ देखिन्छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेल, पार्वत गुरूङ, देवी ज्ञवालीलगायत नेताहरू बालुवाटार गएका थिए ।














