काठमाडौं । ठमेलमा ड्युटी खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीलाई नै कारबाही गर्ने तयारी अनुसार छानबिन सुरु भएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज बाहिर सार्वजनिक भएको थियो । उक्त फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेसँगै प्रहरी कुट्ने अनेरास्ववियुका नेता–कार्यकर्ता कारबाहीको दायरामा आउन सुरु भएको छ ।

तर त्यही भिडिओ किन सार्वजनिक भयो, कसले–कसरी सार्वजनिक भयो भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ ।
भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल, मिडियादेखि संसद्सम्म यो विषयले चर्चा पाएको थियो । त्यसको चौतर्फी दबाब थेग्न नसकेपछि उन्मुक्ति दिइएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितका व्यक्ति पक्राउ परेका थिए ।
तर जुन भिडिओका कारण प्रहरी कुट्ने अखिल नेता कारबाहीको दायरामा आए, त्यही भिडिओलाई लिएर परिसरले अहिले छानबिन सुरु गरेको हो ।
परिसर स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै लिखित निर्देशन आएपछि छानबिन सुरु गरिएको छ ।