काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेकै अवस्थामा नेपालको गणतन्त्र धेरै समय नचल्ने बताएका छन् । आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले अब देशमा केही न केही हुने बताए ।

‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू !’ उनले भने, ‘यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ ।’
महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भएपनि एमाले र माओवादीबाट सम्भव नभएको बताए । उनले अहिले देखिएको संकट समाधानका लागि नेकपा एकीकृत समाजवादीको भूमिका निर्णायक रहेको दाबी गरे ।
अहिले एकीकृत समाजवादीले लिएको बाटोमा माओवादी र एमाले आउनैपर्ने भन्दै उनले उनीहरू घमण्ड र हिनताबोधले नेकपा एसमा नआएपनि अन्तिममा आउनैपर्ने जिकिर गरे ।