काठमाडौं । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची थियो । बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यस पटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका थिए ।
आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभा बैठकमा १० जना सांसदका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए । कार्यक्रममा सांसदहरूले अनेकन् प्रश्न उठाए । तर, जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् ।

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले ‘तपाईँले नै तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’ गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले आफूले अगाडि बढाएको योजना आफूपछिको सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गर्दै उल्टै सोधे, ‘कार्यक्रम रद्द गर्नेहरूले नै फेरि ? तीन वर्षे कार्यक्रम रद्द हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘अर्थतन्त्रमा शिथिलता आएको छ । जनताको चुल्हो महँगीको मारमा परेको छ । पुँजीगत खर्च भइरहेको छैन । युवाहरूको पलायन बढेको बढ्यौ छ । समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के के छन् ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओली प्रतिप्रश्नको वर्षा नै गरे । उनले भने– ‘७ महिना अगाडि तपाईँ आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु, फेरि पनि प्रश्न गर्नुभएकोमा धन्यवाद छ । तर, उसबेलाको पनि अलिकति सम्झनु पर्छ कि ?’
पुनको अर्को प्रश्न थियो– ‘विगत सरकारले विश्व विद्यालय, संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीयकरण र हस्तक्षेप गरेको तथा ती निकायमा व्यावसायिक दक्षताको आधारमा काम गर्ने वातावरण नरहेको देखिन्छ । सरकारले यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ ?’
ओलीले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको जवाफ दिए, ‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ?’
विश्वविद्यालयमा मेरिटोक्रेसी धेरै हल्ला चलेको विषय भनेर ओलीले यसबारे प्रतिप्रश्न गरे, ‘मेरिटोक्रेसी त्यतिबेला नै देखिएको हो जतिबेला प्रथम अंक प्राप्त गर्नेलाई मेरिटोक्रेसीमा नदिएर द्वितिय अंक प्राप्त गर्ने, तृतिय अंक प्राप्त गर्नेलाई अगाडि सारेको बाटै मेरिटोक्रेसी प्रष्ट भएन र ?’ मेरिटोक्रेसीको नगरा बजाइयो । धिमे बजाइयो । के के बाजा छन्, पञ्चे बाजा बजाइयो । धुमधाम मनाइयो । मेरिटोक्रेसी भनियो । भरेतः फस्ट हुने आउट, सेकेन्ड हुने इन । त्यही हो त मेरिटोक्रेसी ?’
माओवादी सांसद पुनको तेस्रो प्रश्न थियो, ‘सत्तापक्षका नेता र माननीयज्युहरूले अध्यादेशको औचित्य पुष्टि गर्न पटक–पटक संसदले कानुन बनाउनै सकेन भन्ने गरेको सुनियो । … हामी सबैलाई थाहा छ बहुमतले विधेयक पारित हुन्छ । दुई तिहाइ बहुमतको दाबी गर्ने सत्तापक्षले संसद्मा बहुमत गुमाइसकेको हो र ?’
उक्त प्रश्नमा पनि ओली प्रतिप्रश्न नै गरे । उनले भने, ‘त्यस दिन उहाँ आफैँ सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो ? …मेरै पार्टी फुटाउनलाई २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरेको होइन र ?’
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहको प्रश्नसम्म पुग्दा त ओली आक्रोशित नै बने । ओलीलाई साहका प्रश्न जवाफ नै दिएनन् ।
सांसद साहले ‘हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन् ? होइन भने सङ्ख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?’ भन्दै प्रश्न गरेका थिए ।
प्रश्नकर्ता सांसद साहलाई ओलीले सोधे, ‘यो म सरकारमा आएपछिको आठ महिनामा भएको हो ? तपाईँले भनेको ७० लाख ८ महिनामा विदेश गएका हुन ?’ आफ्नो प्रश्नको जवाफ दिनुको साटो प्रतिप्रश्न गरेपछि प्रश्नकर्ता साहले सांसदले उठेर विरोध गरे । सभामुखको रुलिङपछि साह बसे र प्रधानमन्त्री ओली अगाडि बढे ।
‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा जवाफ दिइरहनुपर्ने छैन । सबैको उत्तर आफैँले बोकेर आउनुभएको छ प्रश्नमा । त्यस कारण मैले धेरै उत्तर दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ,’ प्रधानमन्त्री ओलीले भने । अर्थात्, साहको प्रश्नमा प्रधानमन्त्री ओलीले कुनै जवाफ दिएनन् ।














