काठमाडौं । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओल र सांसदहरूबिच प्रश्नोत्तर कार्यसूची थियो ।
जसका कारण प्रधानमन्त्री ओली संसद् भवन परिसरमा रहँदा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो । संसद् भित्रको सुरक्षाका लागि प्रहरी विशेष कार्यदल छ।

त्यस्तै बैठक कक्षमा पनि प्रधानमन्त्री बोलिरहँदा माथिल्लो भागको दर्शकदिर्घामा सामान्य अवस्थाको तुलनामा धेरै मर्यादापालक खटाइएको थियो । संसद् सचिवालयमा रहेको सुरक्षा स्रोतका अनुसार ‘बैठक कक्षमा प्रदर्शन हुँदैछ’ भन्ने खबर प्रहरी कहाँ पुगेको थियो ।
जसका कारण दर्शकदीर्घामा भएका युवाहरूमाथि मर्यादापालकले निगरानी गरेको थियो । प्रहरीले अघिल्लो बैठकहरूको तुलनामा गेटदेखि नै चेकजाँच बढाएको थियो । सांसदका स्वकीय सचिवहरूलाई समेत कार्ड हेरेर मात्र भित्र छिर्न दिइएको थियो ।
प्रधानमन्त्रीले संसद् भित्र सम्बोधन गरेर बाहिरिनु अघि पत्रकारहरूसँग समेत प्रहरीले परिचय मागेका थिए ।