
काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको विश्वविद्यालयको उक्त होस्टलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शव शंकास्पद अवस्थामा फेला परेको हो ।
कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ । उनको मृत्युको कारण खुल्न सकेको छैन । यसैबीच सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक युककले दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रकृतिले ती पुरुषबाट अति नै दुव्र्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ । उनले रिपोर्ट गरे पनि कलेज प्रशासनबाट कुनै पनि सहयोग प्राप्त नभएपछि उनले आत्महत्या गरेको बताइएको छ । घटनापछि आक्रोशित नेपाली विद्यार्थीहरूले लम्सालका लागि न्यायको माग गर्दै विरोधका लागि प्रदर्शनमा उत्रिएका छन् ।