लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ ।
हालै निर्माणसम्पन्न अन्तरराष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन’, उनले भने ।
सिँचाइ आयोजना सफल बनाउँदै कृषि क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरू गरेकामा प्रशंसा व्यक्त गरे । ‘यो अस्पताल भवन प्रदेश सरकारको रू ६ अर्ब १८ करोड लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । तर केन्द्र सरकारले एक हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न सकिएको छैन । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ’, उनले भने ।
त्यस्तै, ओलीले १७ महिनालाई सरकार तोपै हाने पनि नढल्ने बताए । उनले सरकार ढाल्न भइरहेको प्रयास निरर्थक हुने बताएका हुन् । ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन, केही गरे पनि सरकार ढल्दैन, अर्थात् प्रधानमन्त्री ढल्दैन,’ उनले भने ।
उनले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । यो कुरा प्रष्ट भएकाले सरकार ढाल्ने चलखेलमा नलाग्न पनि प्रधानमन्त्री ओलीले भने ।