काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् बैठकमा पक्षपातपूर्ण व्यवहार गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आकस्मिक समय सकिएपछि सभामुख देवराज घिमिरेसँग बोल्न समय मागिन् । उनले भारतको भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को घटना बैठकमा राख्न खोजेकी थिइन् ।

केआईआईटी मा अध्ययनरत छात्रा बुटवलकी प्रकृति लम्साल को शंकास्पद मृत्यु भएको छ । प्रकृतिको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित बनेपछि उनीहरूलाई होस्टेलबाट निकालिएको छ ।
सुमना सोही विषय प्रतिनिधिसभा बैठकमा राख्न खोजेकी थिइन् । तर, संसदको बैठकको कारबाही सुरु भएपछि ढ्यापढ्याप गरेर समय मागेकी उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । सभामुख घिमिरेले सांसद श्रेष्ठलाई आफूले बोल्न समय नदिएको भन्दै संसद् नियमावलीसमेत स्मरण गराए ।
उनले भने, ‘माननीय सदस्य आसन ग्रहण गर्नुस्। यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ। मैले यहाँलाई समय दिएको छैन। समय लिएर बोल्नुपर्छ भन्ने नियमावलीले गरेको व्यवस्था म ध्यानाकर्षण गराउन चाहन्छु,’ सभामुख घिमिरेले भने।
तर सांसद श्रेष्ठले ढ्यापढ्याप पार्दै समय माग गरिरहिन् । ‘समय पाउँदा यहाँले आफ्ना कुरा राख्ने हो, समय नपाउँदा नियमको पालना गर्नुपर्छ,’ सभामुखले उनलाई भने । त्यसपछि शून्य समय सुरु भयो। सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकबाट बाहिरिइन् ।
पक्षपातपूर्ण व्यवहार
प्रतिनिधि सभा २०७९ को नियमावलीमा प्रतिनिधि सभा सदस्यले ढ्यापढ्याप गरेर आकस्मिक समय पाउने उल्लेख छ । नियमावलीको नियम १५ मा भनिएको छ– ‘अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकको बिचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन् ।’
तर प्रतिनिधि सभाको कार्य व्यवस्था समितिले भने सांसदले ढ्यापढ्याप गर्दैमा समय नपाउने निर्णय गरेको छ ।
सभामुखले सुरूमा नाम नटिपेको र आकस्मिकको समय आएपछि टिपेका नामहरू बोल्न दिएको तर सांसद श्रेष्ठले जरुरी भएको विषय राख्न खोजेको बताइन् ।
तर, सभामुख घिमिरेले आइतबार मात्र नेपाली काङ्ग्रेसकी सांसद प्रतिमा गौतमलाई शून्य समयका लागि नाम नटिपाएको भएपनि समय दिएका थिए । सांसद गौतमले काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेको र विकासका काममा समन्वय भएको विषय उठाएकी थिइन् ।
त्यस्तै माघ २९ गतेको बैठकमा एमाले सांसद इश्वरी घर्तीलाई पनि आकस्मिक समय दिएका थिए। घर्तीले रोल्पामा भएको दुर्घटनाबारे बोलेकी थिइन् । तर रास्वपा सांसदलाई भने महत्त्वपूर्ण विषय नियमावली अनुसार आकस्मिक विषयमा पर्ने विषय हुँदाहुँदै पनि सभामुखले समय दिएनन् ।
सांसद श्रेष्ठको आकस्मिक समयमा भारतको वडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएको विषय उठाउन खोजेको बताइन् । समय माग गर्न आफूले बैठक अघि नै सभामुखसँग भेटेको श्रेष्ठले दाबी गरिन् ।
यसले सभामुख घिमिरे संसद् बैठकमा सांसदहरूसँग निष्पक्ष व्यवहार नगरेको आलोचना भइरहेको छ । प्रतिनिधिसभा बैठकमा नियमापत्तिका लागि उभिएका बेला बोलिरहेका सांसदलाई तत्काल रोक्ने अभ्यासलाई सभामुखले बेवास्ता गर्दै आएका छन् । संवैधानिक भूमिकामा भएका सभामुखको निष्पक्षता र कार्यक्षमतामाथि प्रश्न उठ्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो ।