काठमाडौं । नयाँ दिल्लस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भने भनेको छ, ‘हाम्रो अनुरोध बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’
नयाँ दिल्लस्थित नेपाली राजदूतावासका अनुसार, सो संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उक्त प्रकरणमा न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो । उक्त कलेजमा लगभग १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।














