
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै दबाबमूलक प्रदर्शन गरेको छ ।
नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा पद्मा कन्या, त्रिचन्द्र कलेज लगायत काठमाडौँ उपत्यकाको विभिन्न क्याम्पसहरुमा दबाबमूलक प्रदर्शन गरेका हुन् ।
पद्मकन्याका विद्यार्थीले ‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका छन् ।
त्यस्तै त्रिचन्द्रका विद्यार्थीहरुले नेपाली विद्यार्थीहरुप्रतिको दुर्व्यवहार बन्द गर, निष्पक्ष छानविन गर, प्रकृति लम्साललाई न्याय दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
बुटबल घर भएकी २० वर्षीय लम्साल आइतबार कलेजको होस्टलमै मृत भेटिएकी थिइन् । कलेज प्रशासनले लम्सालले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेका थियो ।
तर, उनको मृत्युको खबर बाहिरिएपछि सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले मानसिक यातनाका कारण लम्सालको मृत्यु भएको भन्दै छानविन गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।