
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग गरेका छन् ।
आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गरेका छन् । सभाको आकस्मिक समयमा बोल्दै सांसदहरु राधेश्याम पासवान, कृष्णबहादुर रोकाय, मदनकुमारी शाह गरिमा, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र तुलसाकुमारी दाहाल लगायतले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए ।