काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नाविरुद्ध संसद्बाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नमाथि जवाफ दिँदै उनले कुनै पनि प्रकारका आर्थिक हिनामिना, गैरकानुनी क्रियाकलाप तथा अवैध लाभ लिएको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौती दिए । ‘मैले कुनै खराब काम गरेको रहेछु भने मन्त्री मात्र होइन सांसद पद नै छाड्न तयार छु, गैरकानुनी काम गरेको तथ्य प्रमाण देखाउन म चुनौती दिन्छु’, उनले भने । सांसदहरुबाटै आफ्नाविरुद्ध अनर्गल प्रचार भइरहेको र त्यसबाट आफ्नो मानमर्दन भएको पनि उनले बताए ।
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल विवाद टुङ्ग्याउने गरी अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदा नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले त्यसलाई अटेरी गरेको, मन्त्रालयसँग समन्वय नगरेको, प्राधिकरणका सञ्चालक बैठकमा उपस्थित नहुने गरेकोलगायतका विषय उनले उठाए ।
ऊर्जामन्त्री खड्काले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको समृद्धि ऊर्जा विकासमार्फत मात्र सम्भव हुने स्पष्ट धारणा बनाएको उल्लेख गरे । गत असोज ११ र १२ गते आएको भीषण वर्षा, बाढी र पहिरोले देशका जलविद्युत् आयोजना, प्रसारण संरचना तथा सिँचाइ प्रणालीमा गम्भीर प्रभाव पारेको र विद्युत् तथा सिँचाइ प्रणालीको सञ्चालन एवं मर्मत कार्यलाई तीव्रता दिन करिब रु सात अर्ब खर्चिनुपरेको उनको भनाइ छ ।
मन्त्रालयले पछिल्लो सात महिनामा उल्लेखनीय कार्य सम्पन्न गरेको दाबी उनले गरे । ‘विद्युत् विकास विभागले १६ जलविद्युत् आयोजना तथा ३३ प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको छ, त्यस्तै, १६ जलविद्युत् आयोजनाको उत्पादन तथा निर्माण अनुमतिपत्र, ११ वटा प्रसारण लाइन निर्माण अनुमतिपत्र, १४ वटा सौर्य विद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्र र दुई सौर्य विद्युत् आयोजना निर्माण अनुमतिपत्र जारी गरिएको छ’, उनले संसद्मा भने ।