काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन् ।

७५औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीरांगना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन स्मरणीय भएको बताएका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ। जनताको संघर्षबाट प्रजातन्त्रकै जगमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौं। देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको हाम्रो कार्यभार हो भने लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो ।’
निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गरेका अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन् ।














