दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तनलाई मास्न खोजेको दावी गरेका छन् । बुधबार एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न कपिलवस्तु आएका पोखरेलले २०६२ र ०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरि पञ्चायती भूत सलबलाउन थालेको बताएका हुन् ।

उनले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गर्दै भने, ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् ।’ महासचिव पोखरेलले पूर्वराजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिए भन्दै राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्तिमात्रै सफल भएको छ । अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’ पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने उनको भनाइ छ ।
‘मैले बलिया दुई राजनीतिक दल भएमात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु’ महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ ।’ जनता माझ गई चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिए भन्दै उनले राजनीतिक खुद्रा पसल आवश्यक नभएको बताए ।














