Logo
Logo
७५औं प्रजातन्त्र दिवस

आजका पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता कथामात्र बनेकाे छ : प्रधानमन्त्री


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जहानीयाँ र निरंकुश शासनसँग लोकतन्त्रको तुलना पनि हुन नसक्ने बताएका छन् ।

७५औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत नहुने बताएका हुन् ।

उनले भने, ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ । प्रधानमन्त्री ओलीले प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता कथा मात्रै बनेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– प्रजातन्त्रले के गरेको छ ?! त्यसले त अझै राणाकालका दरवारहरूबाट निर्वाह गरिरहेको छ !’ उनले त्यसकारण भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले आजको दिन बिर्सनै नमिल्ने बताए ।

‘फागुन ७ गतेले हाम्रो, खेर गएको सिंगो शताव्दीको स्मरण गराउँछ। विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ’ प्रधानमन्त्री ओलीले भने, ‘सत्य÷तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ ।’

प्रतिक्रिया दिनुहोस्