Logo
Logo

‘राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो बन्दै छ’


378
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् ।

नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताए ।

‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उनले भने ।

चुनावका बेला प्रयोग हुने राज्य संयन्त्रको इमानदारितामाथि पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रश्न उठाए । चुनावको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । चुनावमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उनले बताएका छन् ।

नागरिक सचेत भएमा मात्रै चुनाव सफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गर्नुभयो । त्यस्तै आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै ठाउँको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्