काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्मा विचाराधीन अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको बताएको छ ।

संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत भएको निष्कर्ष निकालेको छ ।
‘अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष सहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पाटीको असहमति र विरोध छ’ पार्टीको निर्णय छ ।
यो पृष्ठभूमि राखेर एकीकृत समाजवादीले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।