
काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । लामो समय नेकपा एमाले हुँदै एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य रहेका ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो ।
तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका उनी काभ्रेको तत्कालीन एमालेको लामो समयसम्म सचिवको जिम्मेवारीमा रहेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रेबाट चुनिएका थिए ।
पछि नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा रहेको पोलिटब्युरो सदस्य थिए । सापकोटाको पार्थिव शरीर आज बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले जानकारी दिए । स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।














