खोटाङ । जिल्लाको श्री ज्यू माध्यमिक विद्यालयलाई निशुल्क स्मार्ट बोर्ड सहयोग उपलब्ध भएको छ । बराहपोखरी गाउँपालिका-२ चेकेथुमका रुद्र थापा मगरले एक थान स्मार्ट बोर्ड सहयोग गरेका हुन् ।

विगत ६ वर्षदेखि जापानमा बस्दै आएका रुद्र थापा सो विद्यालयका पूर्व विद्यार्थी हुन् । उनले कक्षा १० सम्म सो विद्यालयमा अध्ययन गरेका थिए । विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान बुझ्न सहज होस् भन्ने उद्देश्यले स्मार्ट बोर्ड सहयोग गरेको उनले बताए ।
उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्ट बोर्ड निकै उपयोगी रहेको बताए । त्यस्तै, सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई पोसाक पनि सहयोग उपलब्ध भएको छ ।
समाजसेवी केदार मगर, मान बहादुर मगर, विश्वमणि फयल, मुकेश श्रेष्ठ, पुकल श्रेष्ठ, अनिल पुमा राई, प्रकाश बन्जारा, खगेस्वर बन्जारा, दिलकुमार श्रेष्ठ, ढक राना मगर, चन्द्र श्रेष्ठ, दीपक राई, खडिन्द्र खत्री, अर्जुन मगर ( लाल बहादुर मगर ), सन्देश मगर, रामकुमार राई र कुमार पौडेलको सहयोगमा ७० जना विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेको केदार आले मगरले जानकारी दिए ।

पोसाक हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष शालिकराम बन्जारा, २ नम्बर वडाका वडाध्यक्ष पदम मगर, समाजसेवी केदार आले मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फडिराज तिम्सिना, गणेश आले मगरलगायतको उपस्थिति थियो ।
त्यस्तै, यस विद्यालयका लागि यसभन्दा अगाडी नै समाजसेवी चन्द्रकुमार राई, केदार आले मगर, ध्यानकुमार राईलगायतको नेतृत्वमा १३ थान कम्प्युटर र सोलर हस्तान्तरण गरिसकेका छन् । उक्त सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा सुरुवात भएको हो ।
सो विद्यालयका लागि सात वर्ष अगाडी कम्प्युटर शिक्षाको लागि केदार आले मगरले आफ्नो नेतृत्वमा १२ लाख ३२ हजारभन्दा माथिको अक्षयकोषको स्थापना गरिसकेका छन् । विद्यालयले सो अक्षयकोषबाट अहिले एक कम्प्युटर शिक्षक राखेको छ ।
लामो समयदेखि सामाजिक कार्यहरूमा लागिरहेका केदार आलेले श्री प्रा.वि. सुन्तलेको लागि पनि आफ्नै नेतृत्वमा कम्प्युटर सहयोग गरिसकेका छन् । त्यस्तै, यस विद्यालयमा पनि उनले आफ्नै नेतृत्वमा ८ लाखभन्दा माथिको अक्षयकोषको स्थापना गरिसकेका छन् ।
