काठमाडौं । दक्षिण कोरियाले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘डिपसिक’लाई प्रतिबन्ध लगाएको छ । सोमबारदेखि नै दक्षिण कोरियामा डिपसिकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त एपले देशको डेटा सुरक्षा कानुनको पालना गर्छ कि गर्दैन भन्ने निश्चित नभएसम्मका लागि दक्षिण कोरियाले डिपसिकलाई प्रतिबन्ध लगाएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । दक्षिण कोरियामा अहिले उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरबाट हटाइएको छ भने वेभ ब्राउजरबाट भने चलिरहेको बताइएको छ ।
समाचारमा जनाइएअनुसार एपले दक्षिण कोरियालीहरूको व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानुनको पालना गरेको सुनिश्चित गरेपछि एप पुनः सुरु हुने नियामक अधिकारीहरूले बताएका छन् । डिपसिकको एक महिनाअघिमात्रै आफ्नो च्याटबट सार्वजनिक गरेको थियो ।
डिपसिक सार्वजनिक भएपछि एआईमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको थियो । साथै, यसले अनधिकृत डाटा प्रयोग गरेको शंकामा ओपनएआई र माइक्रोसफ्टले छानबिन समेत सुरू गरेको थियो । अस्ट्रेलिया र ताइवानमा पनि डिपसिक प्रतिबन्ध लगाइएको छ ।