Logo
Logo

सरकार अध्यादेशको पासोमा : माओवादी


693
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे । सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भए पनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उनले बताए । प्रवक्ता सापकोटाले दुई तिहाइको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए । उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुने गरी आएको समेत बताए ।

सापकोटाले सरकारका सबै क्रियाकलाप हेर्दा ठुला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे । सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए ।

उनले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे । जनस्तरमा सङ्गठन सुदृढीकरणका लागि समेत जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले बताए । उक्त अभियान सम्पन्न भएपछि मध्य पहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए । सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ ।  

उनले ढिलो नगरी सबै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्