काठमाडौं । प्रथम महिला राधिका शाक्यले सामाजिक संजालदेखि समाकालीन केही नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई होच्याएर र लाञ्छानाहरु लगाएर गरेका टिप्पणीप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्नो जीवनकालका कथाहरु समेटिएको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा बोल्दै शाक्यले आफूलाई लेख्न जस्तो बोल्न आउँदैन भन्दा भन्दै पनि थोरै शब्दमा धेरै भावहरु व्यक्त गरे ।
उनले ओलीप्रति विगतमा उनका समकालीन केही नेताले गरेका अपमानजनक टिप्पणीदेखि अचेल सामाजिक संजालबाट हुने गरेका प्रहारको भद्र प्रतिवाद गरे ।
ललितपुरको पाटनका नेवारको छोरी राधिकाले करुणा भावनाकै कारण धेरै चुनौतिका बाबजुद आफूले ओलीसँग विहे गरेको सुनाए । ओली मन्त्री वा प्रधानमन्त्री हुन्छन् भनेर आफूले विहे नगरेको भन्दै उनले आफ्नो ३३ वर्ष लामो राष्ट्र बैंकको सेवाबापत प्राप्त गरेको सुविधाबाट बनाएको घरलाई समेत बालकोट दरवार भनेर अनर्गल प्रचार गर्नेहरुलाई एक एक हिसाब देखाउन तयार रहेको शाक्यले बताए ।
ओलीलाई केही ठूलै नेता भन्नेहरुले भैंसी गोठालो र गोठालोको छोरा भनेर हेपेर अन्तर्वार्ता दिएको स्मरण गर्दै शाक्यले एउटा भैंसी गोठालोसँग विहे गरेकामा आफूलाई गर्व लागेको भनेर त्यतिबेलै लेखेको बताए । ओलीलाई माधव नेपाललगायतका केही नेताले अल्छी भनेर गरेका टिप्पणीको समेत प्रतिवाद गर्दै शाक्यले विहान साढे ४ बजेसम्म काममै व्यस्त हुने गरेका ओली विश्वकै सक्रिय नेतामा पर्ने जवाफ दिए ।














