Logo
Logo

‘साझा प्रकाशन जनताले विश्वास गरेको भरपर्दो संस्था थियो, अहिले इतिहासमा मात्रै सीमित छ’


378
Shares

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गत साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशन रहेका जनाउँदै व्यवस्थापन पक्ष सक्षम नहुँदा लामो समयदेखि सबै संस्थामा घाटामा रहेका बताए । उनले आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँच वटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उल्लेख गरे ।

‘साहित्य र संस्कृतिको विकास तथा संरक्षणका क्षेत्रमा काम गर्न अग्रजहरूले सुरुआत गर्नुभएका सकारात्मक विषयलाई निरन्तरता दिनु पर्छ । सधैँ सरकारसँग आश्रित भइरहँदा संस्था सबल हुन सक्दैन’, मन्त्री अधिकारीले भने, ‘साझा प्रकाशन नेपाली जनताले विश्वास गरेको भरपर्दो संस्था थियो । यो विषय अहिले इतिहासमा मात्रै सीमित छ, यसलाई वर्तमान अवस्थाबाट उकास्न नयाँ नेतृत्वले विशेष योजनासहित समस्या समाधानमा ध्यान दिनुपर्छ ।’

उनले भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरुप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई विकास हुँदै २०२१ सालमा स्थापित साझा प्रकाशनलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई सबल बनाउन मन्त्रालयका तर्फबाट सकारात्मक भूमिका खेल्दै प्रभावकारिता वृद्धि गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘हिजोको र आजको चिन्तन फरक छ, हामीले हिजो गरेको व्यवहार, इतिहास, दृष्टिलाई ध्यान दिँदै अहिलेको परिस्थितिमा कसरी जान सकिन्छ भनेर योजना बनाउनुपर्छ । संस्कृति संरक्षण र निरन्तरता दिन के गर्न सकिन्छ भनेर सहकार्य र समन्वय गर्न जरुरी छ’, उनले भने ।

साझा प्रकाशनका नाममा मुलुकका विभिन्न ठाउँमा रहेका जग्गालाई व्यवस्थापन गरेर भाडामा लगाउँदा पनि खर्च चलाउन सकिन्छ भन्दै साझा प्रकाशन जस्ता संस्था स्वयम् आत्मनिर्भर भई समृद्धितर्फ जाने संस्था हुन् उनले भने । उनले यो साधारणसभाले विगतमा भएका कमजोरी खोज्न सकोस् भन्दै अबको नेतृत्वले कमजोरी पहिचान गरेर समाधानका उपाय निकाल्न योजना बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्