
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खसेका २७ वर्षीय रोहित रानाको शव फेला परेको छ ।
फागुन २ गतेबाट बेपत्ता भएको रोहितको शव ९ दिनपछि आज बिहान जलविरेस्थित त्रिशूली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो । रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी फागुन २ गते मोटरसाइकलमा एक्लै काठमाडौं आउनेक्रममा मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । पर्समा रहेको कागजपत्रका आधारमा भारतीय सेनामा कार्यरत रहेका राना छुट्टिमा आएका बेला दुर्घटनामा परेको खुलेको थियो ।