काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले २०८४ सालको निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले महाधिवेशनका विषयमा पार्टीका नेताहरूले जे पनि बोल्ने प्रवृत्ति उचित नभएको भन्दै २०८४ सालको निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन् । उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन हुनुपर्ने र आवश्यकताका आधारमा एक वर्ष मात्रै म्याद थप गर्न मिल्ने भएकाले आगामी निर्वाचन अघि नै महाधिवेशन हुने धारणा राखे ।
कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने बताए ।
उनले महाधिवेशनलाई निर्वाचनपछि धकेल्ने खोजे ठूलो क्षति हुने जिकिर गरे । यसअघि कांग्रेसको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो ।