काठमाडौँ । तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ।
नेपाली सेनाले हालसम्म गरेका कामका बारेमा जानकारी दिन आइतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा निर्माणमा ढिलाइ भएकाे जानकारी दिएको हो।

काठमाडौँ-तराई-मधेश द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माणमा ढिलाइ भएको बताए। उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए।
शाहले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन। त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ। गत असोज १२ र १३ गतेको भीषण वर्षाले हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही ढिलाइ भएको हो।’
असोज १२ र १३ गतेको भीषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ।














