Logo
Logo

नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान


189
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान भएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।

उम्मेदवार बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।

साथै, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

योग्यता पुगेका उम्मेदवारले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नु पर्नेछ ।
आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।

प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेबमोजिम हुने छ ।

अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।

प्रतिक्रिया दिनुहोस्