Logo
Logo

पहिचानको मुद्धा सम्बोधन गर्न संविधान कार्यान्वयनमा जोड दिनुपर्छ : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।

तराई–मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ आमबाडीमा सोमबार आयोजित सहिद परिवार तथा आदिवासी अगुवासँगको भेटघाटमा उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कोच, शेर्पालगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने बताए ।

उनले जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई जस्ताको तस्तै अघि बढाउन नसकेको बताए । पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताउँदै उनले आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरू गरेको बताए ।

अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको पनि उनको आरोप छ । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायलाई बलियो बनाएरमात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्