काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ।

अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी, ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल, गोपालबहादुर शाही र नवीनसिंह ऐरलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । सौजन्य शाहीलाई पनि प्रतिवादी बनाइएको छ तर उनी फरार छन्।
माघ २४ गते उनीहरूसहित ६ जनाले ठमेलस्थित सडकमै हो(हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्यूआरटी) प्रहरीले फेला पारेको थियो । उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।














