काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बनेको सरकार भएको टिप्पणी गरेका छन् ।

सोमबारबाट काठमाडौंमा सुरु पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले कांग्रेस, एमाले र माओवादीले देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै अहिलेको ठुला दल मिलेर बनेको सरकार पनि देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बसेको सरकार भएको टिप्पणी गरेका हुन् ।
उनले ठुला भनिएका तीन वटा पार्टी र पात्रले देशलाई बर्बाद बनाएको जिकिर गरे । सदनमा अंकगणित देखाएर शक्ति देखाउने काम काम धेरै दिन नटिक्ने उनले बताए । महतोले सबैको अधिकारका लागि सबै पहिचानवादीहरू गोलबन्द हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा महतोले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा बिचौलियाहरूलाई फाइदा पुग्ने गरी सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उल्लेख गरिएको छ । त्यस्तै महतोले कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको टिप्पणी गरेका छन् भने एमाले नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको उल्लेख गरेका छन् ।











