काठमाडौँ । पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ ।

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी निर्माण कार्य हाललाई स्थगित गर्ने जानकारी गराउँदै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् ।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’
यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्ता निष्कर्षमा पुग्न सकेको छैन । माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ गते दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।
तर २७ गते गृहमन्त्रालयका सहसचिव भट्टराईकै नेतृत्वमा खटिएको सरकारी वार्ता टोलीसँग नभइ र राजनीतिक टोलीसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोलनरत पक्षले वार्ता बहिस्कार गरेका थिए । पाथीभरमा केबुलकार बनाउने विषयमा माघ १२ गते प्रहरी र नो केबुलकार पक्षबीच झडप भएकपछि सिर्जना भएको विवाद एक महिना हुँदासम्म साम्य हुन सकेको छैन । अहिले यो विवादले सडकदेखि सदनसम्म बहस सिर्जना गरेको छ ।
