Logo
Logo

वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ


315
Shares

पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

यही अवधिमा आर्थिक वर्षभन्दा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए । ‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’, उनले भने ।

गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपीजी आयात भएको छ । सो आयात हुँदा ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्