काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाने दिन नजिकिँदै गर्दा भावी आइजीबारे चर्चा चलेको छ । ३० वर्षे सेवा अवधि पुरा गरी यही चैत ५ गते आइजी कुँवर अनिवार्य अवकाशमा जाने भएपछि भावी आइजीबारे चर्चा सुरु भएको हो ।
आइजी नियुक्तिबारे प्रधानमन्त्रीकै सल्लाह सहमति हुने भए पनि गृह मन्त्रालयमा भने बढी हल्ला चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यसचिव एकनारायण अर्यालले यो विषयमा केही दिनअघि नै बिफ्रिङ गरिसकेका छन् । गत शनिवार मात्रै प्रधानमन्त्री ओलीसँग भावी आइजीका दाबेदार रहेका एआइजी दीपक थापाले भेटघाट गरिसकेका छन् । उनको कुराकानी सकारात्मक रहेको स्रोतले बताएको छ ।

‘सामान्य कुराकानी भयो, त्यो पनि कुँवरका छोराको बिहे पार्टीमा भेटघाट भएको हो, प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छ’, स्रोतले भन्यो । त्यहाँ उनी भावी आइजी भएको चर्चा पनि गरिएको थियो । भावी आइजीबारे बालुवाटार अहिले चर्चा गर्न चाहँदैन । तर गृह मन्त्रालयमा भने चर्चा चुलिएको छ ।
आइजी कुँवर चैत ५ गते अनिवार्य अवकाशमा जाँदै छन् । आइजी कुँवरकै ब्याजी एआइजीहरू प्रशासन विभागका प्रमुख टेकप्रसाद राई, मानव स्रोत विभागका दुर्गा सिंह, अपराध अनुसन्धान विभागका कुवेर कडायत, कार्य विभागका बुद्धिराज गुरुङ र भर्खरै एआइजी बढुवाका लागि सिफारिस भएका जनक भट्टराई पनि अनिवार्य अवकाशमा जादैछन् । अनिवार्य अवकाशको केही दिनअघि नै बिदा बस्ने मनस्थितिमा पुगेका कुँवर सरकारले भावी आइजी तय गर्न समय लगाउने भएकै कारण चैत ५ गतेसम्म नै रहने सम्भावना छ ।
स्रोतका अनुसार भावी आइजीलाई सहज बनाउन उनी निर्धारित मितिभन्दा केही दिन अघि नै बिदामा जाने तयारीमा थिए । नेपाली सेनामा अवकाशअघि एक महिनासम्म बिदामा बस्ने परम्परा भए पनि नेपाल प्रहरीले भने यस्तो अभ्यास गरेको छैन । हाल प्रहरी ऐनमाथि संसद्मा छलफल भइरहेको अवस्थामा आइजी कुँवरको कार्यकाल नबढ्ने निश्चित भएसँगै उनले प्रारम्भिक रूपमा एक महिना अघि नै बिदा बस्ने योजना बनाएका थिए । तर, गृहमन्त्री रमेश लेखकले ‘अहिले नबस्नु, अर्को आइजी तय भएपछि मात्रै बस्नु’ भनेपछि उनी रोकिएका थिए ।
आइजी कुँवर ‘ब्याच नम्बर १०८’ का सदस्य हुन्, जसका अधिकांश सहकर्मीहरू पहिले नै बिदामा गइसकेका छन् । आइजी पदका मुख्य दाबेदारहरूमा डीआइजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थापाको सम्भावना बलियो देखिएको छ । गिरी र तामाङ पनि अब्बल रहेका छन् । उनीहरू खास विवादमा आएका छैनन् । कमान्ड र अनुभवका हिसाबले थापा अघि, इन्टेलिजेन्सका हिसाबले गिरी र अनुसन्धानको हिसाबमा तामाङ अब्बल हुन् ।
कुँवरका व्याचका केही अधिकृतहरू मध्ये गणेश चन्द र भगवानसिंह विष्टलाई विशेष प्रहरी सेवामा पठाइएको थियो ।














