
एजेन्सी । क्यानडाले रुसी तेल ट्याङ्कर तथा जहाजमाथि प्रतिबन्ध लगाएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत रुसी तेल ट्याङ्कर तथा जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरिएको जानकारी दिएका हुन् । रुसले तेलबाट हुने कमाइ युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको ट्रुडोले जनाएका छन् ।
उनले भनेका छन्, ‘रुसले तेलका माध्यमबाट भएको कमाइ युक्रेनविरुद्ध आफूले गरिरहेको युद्धमा प्रयोग गरेको छ । रुस अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्नका लागि जहाजका माध्यमले अवैध रूपमा आफ्नो तेल विश्वभर पु¥याइरहेको छ ।’
ट्रुडोले रुसका १०९ तेल ट्याङ्कर तथा जहाजमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको पनि उल्लेख गरे । यसअघि उनले स्थायी शन्तिका लागि युद्धको जित एकतर्फी हुन नहुने बताएका थिए ।
साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आफूले कुरा गरेको उल्लेख गर्दै उनले आफू सँधै उनको पक्षमा उभिने बताए ।
‘युक्रेनमा शान्ति स्थापना तथा संप्रभुता कायम राख्नका लागि मैले क्यानडाको तर्फबाट नयाँ सैन्य सहायता दिने विषयमा कुरा गरेको छु,’ उनले भनेका छन् ।