
काठमाडौँ । महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसभित्र गुट अदलबदल हुन थालेको छ । १५औँ महाधिवेशन लक्षित गरेर पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र गगन थापासँगनिकट रहेका नेताहरूले गुट अदलबदल गरिरहेका छन् ।
महामन्त्री थापाले शेखर कोइरालालाई छाडेको लामो समय भइसकेको छ । उता देउवा निकटका नेताहरूमा छटपटी सुरु भएको छ । गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा आफू उम्मेदवार भएको बताइसकेका छन् । प्रकाशमान सिंहले कुनै धारणा सार्वजनिक गरेका छैनन् । विमलेन्द्र निधि देउवा गुटमा भए पनि आगामी महाधिवेशनमा के गर्ने भन्ने अलमलमा छन् ।
संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले पनि आफ्नो समूहका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । उनी कोइराला परिवारमा एक्लै परेका छन् । सुजता कोइराला र शशांक कोइरालाले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
शशांक कोइराला अहिलेसम्म संस्थापनतिर भएको अनुमान गरिएको छ । देउवा गुटमा अहिले बेमेल रहेको छ । खासगरी एनपी साउद र रमेश लेखक को नेता भन्नेमा विवाद भइरहँदा बालकृष्ण खाँणले कसरी देउवा गुटका नेताहरूसँग बद्ला लिने भनेर सोचिहरेका छन् ।
खाँण भारी भएपछि देउवा गुटका नेताहरू विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, कृष्ण सिटौलासहितका नेताहरूसँग देउवाले आफ्नै निवासमा छलफल गरेर आफ्नो गुट एकढिक्का रहेको सन्देश प्रवाह गर्न खोजेका थिए ।
आगामी महाधिवेशन र समूहको नेताबारे देउवासमूह छलफलमा जुटेपछि गत शनिवार शेखर कोइरालाले पनि आफ्नो समूहका नेताहरूलाई बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बोलाएर छलफल गरेका थिए । छलफलमा १४औँ महाधिवेशनमा उनको समूहमा रहेका गगन थापा सहभागी भएनन् । यद्यपि, यतिबेला शेखर कोइरालाले आफ्नो गुटलाई बलियो बनाउदै लगेको बताइएको छ ।
१४औँ महाधिवेशनमा प्रकाशमान सिंह अनि कृष्ण सिटौलाको समूहबाट प्रतिस्पर्धा गरेका विश्वप्रकाश शर्मा र स्वास्थ्यमन्त्री प्रदीप पौडेल शनिबारको भेलामा सहभागी भएनन् । संस्थापन इतर समूहको तर्फबाट पार्टीको संसदीय दलको नेतामा गगनले सभापति देउवासँग प्रतिस्पर्धा गर्दा शर्मा र पौडेल दुवैले गगनलाई साथ दिएका थिए ।
शेखरको बैठकमा डा.मीनेन्द्र रिजाल, रामनाथ अधिकारी, सह–महामन्त्री जीवन परियार, सरिता प्रसाँई, सञ्जय गौतम लगायतका नेताहरू सहभागी थिए । १४औँ महाधिवेशनमा मिलेर प्रतिस्पर्धा गरे पनि १५ औँ महाधिवेशनका लागि शेखर र गगन दुवैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेपछि संस्थापन पक्षबाट पनि बलियो उम्मेदवारको खोजी हुन थालेको छ ।
१५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्न देउवालाई पार्टी विधानले नै स्वीकृति नदिने भएपछि अहिले संस्थापन समूहभित्र समेत सभापतिको उम्मेदवारको खोजी सुरु भएको हो । नेताहरूले आ–आफ्नै शैलीमा आन्तरिक तयारी गरे पनि देउवाले कसैलाई पनि उत्तराधिकारी तोकेका छैनन् ।
उनले आरजु देउवाको व्यवस्थापनलाई ध्यान दिइरहेको स्रोतको दाबी छ । देउवा समूहमा पार्टी सभापतिको पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका कृष्ण सिटौलादेखि विमलेन्द्र निधिसम्म छन् । यी दुवै १५औँ महाधिवेशनमा देउवाको उत्तराधिकारीको रूपमा पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन् ।
देउवा समूहमा निरन्तर रहेका उपसभापति पूर्णबहादुर खड्का पनि देउवाको उत्तराधिकारीको रूपमा पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने लाइनमा छन् । आफू पार्टी सभापतिबाट हट्दै गर्दा श्रीमती आरजु राणालाई पार्टी नेतृत्वमा स्थापित गर्ने देउवाको मोह भंग भएको छैन ।
पूर्णबहादुर खड्का, १३औँ महाधिवेशनमा प्रवक्ताको जिम्मेवारीमा रहेका विश्वप्रकास शर्मा अहिले देउवाको कोटरीबाट निकै टाढा पुगिसकेको बताइए पनि उनीहरू खुलिसकेका छैनन् । खड्कालाई देउवा कोटरीबाट बाहिर निस्केको हो भनेर पत्याउने आधार पनि यथेष्ट छैन ।
एनपी साउद, बालकृष्ण खाणहरू गुट फेर्ने तयारीमा रहेको बताइए पनि उनीहरूले पनि केही बताइसकेका छैनन् । देउवासँग मिल्न पुगेका थापा र इतर समूहका नेता शेखर कोइरालाबीच बेमेल सुरु भइसकेको छ । थापाले कोइराला समूहबाट नेताहरू आफ्नो पक्षमा जम्मा गर्न थालिसकेका छन् ।
उता, कोइराला र देउवाबाट किनारा बनाइएका नेताहरू भने १४औँ महाधिवेशन पछि १५औँ महाधिवेशनमा कांग्रेसको आन्तरिक समीकरणमा निकै फेरबदल हुन सक्ने बताउन थालेका छन् ।
देउवाको रणनीतिलाई साथ दिनेहरू मध्येले उत्तराधिकारी पाउने सम्भावना रहेको बताइन्छ । आरजुका हकमा महामन्त्री या उप–सभापति पद सुरक्षित गर्ने देउवाको रणनीति देखिन्छ । तर उनले मुख नखोलेको उनीनिकट नेताहरू बताउँछन् । समूहका नेतामा छटपटी बढे पनि देउवा मौन बसेरै आन्तरिक अंकगणित मिलाइरहेको स्रोतले बताएको छ ।
संस्थापन इतरसमूह भने नेतृत्वको सवालमा छिन्नभिन्न देखिन्छ । एक पटकका लागि पार्टीको नेतृत्वको प्रयास गर्ने भनेर १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बनेका शेखरले बचन तोड्दै पुनः १५औँ महाधिवेशनमा पनि सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनका लागि पनि सहज नभएको काँग्रेसीहरू बताउँछन् । शेखरले १४औँ महाधिवेशनमा संस्थापन इतर समूहलाई नै एकीकृत गर्न सकेका थिएनन् ।
आगामी महाधिवेशनबाट शेरबहादुर देउवाले पुनः सभापतिको प्रत्याशी बन्न पाउने छैनन् । देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्ने होडमा दोस्रो तहका नेताहरू जुटिरहेका बेला १४औं महाधिवेशनपछि पहिलो पटक उनलाई सहयोग गरेका नेताहरूले एकैसाथ उनलाई भेटिसकेका छन् ।
पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका प्रभावशाली एक दर्जनभन्दा बढी नेताहरूले शुक्रबार पनि देउवालाई उनकै निवासमा भेटेका छन् । देउवालाई पार्टीको १०औं महाधिवेशनदेखि नै साथ दिँदै आएका अधिकांश नेता पार्टीको १५औं महाधिवेशनमा उक्त समूहबाट सभापतिको उम्मेदवार को हो भन्ने चासो राखेका थिए । त्यति मात्र होइन, आफूहरू मध्येबाट उत्तराधिकारी बनाउन सहभागी नेताहरूले देउवालाई आग्रह गरेका थिए ।
आफू सबैको सभापति भएको भन्दै गुटको भेला बोलाउन नमिलेको र आफूलाई साथ दिएका नेताहरूबाटै १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने देउवाले आश्वासन दिएका छन् । सहभागी नेताहरूले पार्टी सभापति भएकाले गुटको कुरा गर्न मिलेन भनेर भाग्न र छाड्न देउवाले नमिल्ने भन्दै सभापतिमा चर्चामा रहेका विभिन्न नामप्रति चासो राखेका थिए ।
जवाफमा देउवाले महाधिवेशन आउन झन्डै दुई वर्ष बाँकी रहेको भन्दै परामर्शमै उम्मेदवार टुंगो लगाउने वचन दिएका छन् । पार्टीको १५औं महाधिवेशन आफू प्रधानमन्त्री बनेपछि मात्रै गर्ने भनी नेताहरूलाई देउवाले स्पष्ट पारिसकेका छन् ।