
काठमाडौं । प्रहरीले पशुपतिनाथ क्षेत्रबाट ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो ।
पशुपति क्षेत्रमा लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । अवस्था हेरेर पक्राउ परेकाहरूलाई छाड्ने तथा कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । पशुपति क्षेत्रमा महाशिवरात्री सुरक्षाका लागि एसपी बोहराकै कमाण्डमा ३५ सयभन्दा बढी प्रहरी खटिएका छन् ।